
काठमाडौं । फिफा विश्वकप २०२६ को टिकटसँग सम्बन्धित विवाद सार्वजनिक भएपछि बिनोद अधिकारीले आफ्नो कुनै पनि प्रकारको टिकट वितरण वा बाँडफाँटमा संलग्नता नरहेको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको स्पष्टिकरणमा अधिकारीले आफू फिफाको आधिकारिक टिकट ट्रान्सफर प्रणालीमार्फत आफ्नो खातामा स्थानान्तरण भइसकेको एउटा टिकट सम्बन्धित व्यक्तिको अनुरोधमा सहयोग गर्ने क्रममा मात्र जोडिएको बताएका छन्।

उनले आफ्नो भनाइ पुष्टि गर्न फिफाको आधिकारिक टिकट ट्रान्सफर प्रक्रिया, यस विषयमा भएका संवाद, आफू कसरी उक्त प्रक्रियामा जोडिए भन्ने घटनाक्रम तथा प्रश्न उठेपछि थप प्रक्रिया अघि नबढाउने निर्णयसँग सम्बन्धित प्रमाणहरू सार्वजनिक गरेको उल्लेख गरेका छन्।
अधिकारीले आफूले कहिल्यै पनि गैरकानुनी गतिविधिमा संलग्न हुने वा फिफाका नियम तथा नेपालको कानुन विपरीत काम गर्ने उद्देश्य नराखेको दाबी गरेका छन्।
यस विषयमा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ (एन्फा), फिफा वा अन्य कुनै आधिकारिक अनुसन्धान निकायलाई आवश्यक परे आफूले आफूसँग रहेका सम्पूर्ण कागजात, सन्देश तथा प्रमाण उपलब्ध गराएर पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।
साथै उनले प्रमाण र कानुनी प्रक्रियालाई आधार मानेर सत्यतथ्य स्थापित गर्न सम्बन्धित निकायलाई अवसर दिन तथा अनावश्यक अनुमान र अफवाह नफैलाउन सबैसँग आग्रह गरेका छन्।



