
कञ्चनपुर – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सानुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुगमन गर्दै अपराध नियन्त्रण, तस्करी रोकथाम र प्रभावकारी सेवा प्रवाहमा विशेष जोड दिएका छन्।
हालै सुदूरपश्चिम प्रदेशको सुरक्षा नेतृत्व सम्हालेका डिआइजी भट्टराईले बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको स्थलगत अनुगमन गरेका हुन्। अनुगमनका क्रममा उनले कार्यालयका विभिन्न शाखा, सेवा प्रवाहको अवस्था तथा परिसरको निरीक्षण गरेका थिए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर रावतका अनुसार डिआइजी भट्टराईले प्रहरी अधिकारी तथा कर्मचारीहरूलाई अपराध अनुसन्धान, नियन्त्रण तथा शान्ति सुरक्षासम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
सीमावर्ती जिल्ला भएकाले भन्सार छली, चोरी तथा तस्करीजस्ता गैरकानुनी गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अपनाउन उनले जोड दिएका छन्। प्रत्येक प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारीप्रति इमानदार भई अपराध नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
डिआइजी भट्टराईले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न तथा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन प्रहरीलाई निर्देशन दिएका छन्। साथै, नागरिकको जिउधनको सुरक्षालाई प्राथमिकतामा राख्दै हरेक समय जिम्मेवार र सक्रिय रहन उनले आग्रह गरे।
अनुगमनपश्चात् उनले नजिकै रहेको नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको समेत निरीक्षण गरेका थिए। सो क्रममा उनले विपद् पूर्वतयारी, उद्धार, खोज तथा राहत व्यवस्थापनका कार्यलाई प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिए।
डिआइजी भट्टराईलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरी, डिएसपी टेकबहादुर रावत, प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापा, डम्बर भट्टलगायत प्रहरी अधिकृत तथा कर्मचारीहरूले स्वागत गरेका थिए।
सुदूरपश्चिम प्रदेशको सुरक्षा कमान्ड सम्हालेपछि डिआइजी भट्टराईले संगठनभित्रको अनुशासन र कार्यक्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न सुधारात्मक कदम अघि बढाएका छन्। यस क्रममा उनले यसअघि विभिन्न स्थानमा रहेका ४४४ प्रहरीको काज फिर्ता गर्ने निर्णयसमेत गरेका छन्।
सुरक्षा क्षेत्रमा लामो अनुभव भएका डिआइजी भट्टराईले यसअघि कैलालीमा डिएसपीका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्। उनको नेतृत्वमा प्रदेशमा शान्ति सुरक्षा सुदृढ हुने तथा चोरी–तस्करीजस्ता गतिविधिमा नियन्त्रण आउने अपेक्षा स्थानीयवासीले गरेका छन्।



