
काठमाडौँ । ठमेलस्थित एलओडी क्लब युकेबाट प्रकाशित हुने प्रतिष्ठित पत्रिका डिजे म्यागले सार्वजनिक गर्ने ‘टप १०० डिजे क्लब’ को सन् २०२६ का लागि पुनः नोमिनेसनमा परेको छ।
डिजे म्यागले हरेक वर्ष विश्वभरका उत्कृष्ट १०० डिजे क्लबको सूची सार्वजनिक गर्दै आएको छ। यस वर्ष पनि एलओडी उक्त सूचीमा परेपछि भोटिङ अभियान सुरु गरिएको क्लबले जनाएको छ। एलओडी नेपालको वेबसाइटमार्फत ‘डिजे म्याग टप १०० क्लब’मा क्लिक गरी भोट गर्न सकिनेछ।

क्लबका निर्देशक रविन श्रेष्ठले नोमिनेसनमा पर्नु गर्वको विषय भएको बताउँदै, छनोटमा परेमा नेपाली क्लबहरूले पनि अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान दिलाउन सक्ने प्रमाणित हुने बताए।
एलओडी हालसम्म सन् २०२२ मा ५२, २०२३ मा ४९, २०२४ मा ५० र २०२५ मा ४४ औँ स्थानमा परिसकेको छ। सन् २०१९ मा स्थापना भएको एलओडी क्लब अत्याधुनिक साउन्ड, लाइटिङ र सुरक्षित मनोरञ्जन वातावरणका कारण परिचित छ।



