
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी सन्तोष आचार्यले तस्करीविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै जिल्लामा अवैध कारोबार नियन्त्रणलाई तीव्र बनाएका छन्। जिल्लाको कमान्ड सम्हालेदेखि नै उनले तस्करी नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै खरो अभियान सञ्चालन गरिरहेका छन्।
नेपाल–भारत खुला सीमाका कारण तस्करहरू सक्रिय रहेको सूचनाका आधारमा एसपी आचार्यले सुरक्षा निगरानीलाई कडा बनाएका छन्। त्यसको परिणामस्वरूप कपिलवस्तु प्रहरीले पछिल्लो समय दैनिकजसो अवैध रूपमा भित्र्याइएका लाखौँ रुपैयाँ मूल्यका सामानहरू बरामद गर्दै आएको छ।

एसपी आचार्यले मातहतका सबै प्रहरी प्रमुखहरूलाई तस्करीविरुद्ध कठोर रूपमा उत्रिन स्पष्ट निर्देशन दिएका छन्। निर्देशनपछि सीमावर्ती क्षेत्रदेखि सहरसम्म तस्कर र तस्करीका गतिविधिमाथि निगरानी बढाइएपछि अवैध सामानसहित तस्कर पक्राउ पर्ने क्रम बढेको प्रहरीले जनाएको छ।
तस्करी नियन्त्रणबारे एसपी आचार्यले भने,
“कानुनले निषेध गरेका गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन इमान्दार प्रयास गरिरहेको छु। मातहतका प्रहरीलाई पनि चोरी–तस्करी नियन्त्रणमा सक्रिय र निष्पक्ष रूपमा काम गर्न निर्देशन दिएको छु।”
उनले थपे, “आचरण विपरीत कार्य गर्ने प्रहरी कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याइएको छ,” भन्दै संगठनभित्र अनुशासन र पारदर्शितालाई प्राथमिकता दिएको स्पष्ट पारे।



