काठमाडौं — नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नेपाल प्रहरी सेवामा प्रवेश गरेको आरोपमा वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगको केन्द्रीय कार्यालय टंगालले मंगलबार गिरिविरुद्ध विशेष अदालतमा अभियोग दर्ता गरेको हो। अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार गिरीले सन् १९८८ मा भारतको पट्ना स्थित बिहार स्कूल एक्जामिनेशन बोर्डबाट एसएलसी उत्तीर्ण गरेको भन्दै प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेका थिए।

तर आयोगले उक्त बोर्डसँग शैक्षिक अभिलेखको परीक्षण गर्दा गिरीको नाममा एसएलसी उत्तीर्ण भएको कुनै विवरण नपाइएको जनाएको छ। साथै, उनले पेश गरेको प्रमाणपत्रमा उल्लेख गरिएको अन्तिम क्रमांक ७१८ रहेको भए पनि बोर्डको आधिकारिक अभिलेखमा अन्तिम क्रमांक ५७६ मात्र रहेको भेटिएपछि प्रमाणपत्र नक्कली भएको निष्कर्षमा आयोग पुगेको हो।

गिरीले पछि २०५० सालमा पीसीएल नर्सिङ र २०६३ सालमा पोस्ट बेसिक ब्याचलर इन नर्सिङ अध्ययन पूरा गरेको उल्लेख छ। उनी १६ पुस २०५२ मा प्राविधिक प्रहरी सहायक निरीक्षक (सई) का रूपमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए।

उनी ३० वर्षे सेवा अवधि पूरा हुन एक सातामात्र बाँकी रहँदा, अर्थात् १५ पुसमा अनिवार्य अवकाशमा जाने तयारीमा रहेको अवस्थामा मुद्दा दायर भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय