टोकियो । आगामी साता जापानको राजधानी टोकियोमा आयोजना हुने ‘टोकियो सप्ताह–२०२५’ का लागि तयारी कार्य अन्तिम चरणमा पुगेको छ। नेपाली समुदायको आफ्नै भवन र मन्दिर निर्माणका उद्देश्यले नोभेम्बर ८ देखि १५ सम्म शिन्जुको काबुखिचोमा आयोजना हुने महायज्ञको सम्पूर्ण भौतिक तयारी पूरा भएको मूल आयोजक समितिले जनाएको छ।

कार्यक्रमका प्रमुख वाचकका रूपमा प्रविण पण्डित दिनबन्धु पोखरेल नेपालबाट टोकियो आइपुगेका छन्। आगमनपछि उनले आयोजक समितिसँग तयारीको अवस्था बारे जानकारी लिएका छन्। आज उनले मेघुरोस्थित मेघुरो कोमिन सेन्टरमा नेपाली समुदायसँग अन्तरक्रिया गर्दै सप्ताहका उद्देश्य र महत्वबारे जानकारी गराए।

१५ करोड संकलनको लक्ष्य

‘टोकियो सप्ताह’बाट संकलित रकमद्वारा “एकीकृत नेपाली घर : बहुसांस्कृतिक केन्द्र” निर्माण गर्न दाताबाट करिब १५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। सो भवनमा पशुपतिनाथ र बौद्ध मन्दिर समेत रहनेछ।

दाताहरूका लागि नगद, चेक, क्रेडिट कार्ड, डेबिट कार्ड र PayPal मार्फत अनलाइन दानको व्यवस्था गरिएको छ। आर्थिक पारदर्शिता सुनिश्चित गर्न मूल आयोजक समिति मातहतको अडिटिङ र ट्रेजरर टिम गठन गरिएको छ।

आयोजक समितिका संयोजक सालिकराम भण्डारीका अनुसार, सात दिनसम्म चल्ने यस महायज्ञमा टोकियोका साथै नागोया, ओसाका, फुकुओका लगायत विभिन्न सहरबाट नेपालीहरूको ठूलो सहभागिता रहनेछ।

पण्डित दिनबन्धुको आध्यात्मिक दृष्टिकोण

प्रमुख वाचक पण्डित दिनबन्धु पोखरेलले ‘टोकियो सप्ताह’लाई “मानव मिलन र आध्यात्मिकताको नयाँ प्रयोग” को रूपमा अघि बढाइने बताएका छन्। उनका अनुसार, यो सप्ताह “हँसाउने, नचाउने र बचाउने” शैलीको हुनेछ, जसले विदेशमा रहेका नेपालीबीच एकता र संस्कृतिप्रतिको पुनः आस्था जगाउनेछ।

उनले भने, “आजका नेपालीहरू धर्म, संस्कृति र परम्पराबाट टाढिँदै गएका छन्। यो सप्ताह त्यसैको परिपूर्तिका रूपमा सबैलाई एक ठाउँमा ल्याउने प्रयास हो।”

अमेरिका, अष्ट्रेलिया र युरोपमा यस्ता धार्मिक कार्यक्रम सम्पन्न गरिसकेका पण्डित पोखरेलले जहाँ गए पनि नेपालीहरू जात, वर्ग र समुदायका नाममा विभाजित भएको देखिएको बताए। “यो सप्ताह केवल पैसा संकलनको माध्यम होइन, छरिएका मन र विचारहरू जोड्ने अभियान हो,” उनले भने।

बौद्ध र हिन्दू परम्पराको संयुक्त सन्देश

‘टोकियो सप्ताह–२०२५’ गैरआवासीय नेपाली संघ (एनआरएन) जापानको आयोजनामा हुँदैछ। कार्यक्रममा पण्डित दिनबन्धु पोखरेलसँगै महान बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछे को मुखारविन्दुबाट प्रवचन हुनेछ।

एनआरएन जापानका अध्यक्ष सुभाष लामिछानेका अनुसार, सप्ताहमार्फत हिन्दू र बौद्ध दुवै परम्पराका आध्यात्मिक र सांस्कृतिक सन्देशहरू प्रवाह गरिनेछ। यस कार्यक्रमले जापानस्थित नेपाली समुदायबीच धार्मिक, सांस्कृतिक र सामाजिक एकताको नयाँ उदाहरण प्रस्तुत गर्ने अपेक्षा राखिएको छ।

लामिछानेले भने, “यो सप्ताह नेपाली समुदायमा नयाँ चेतना र सकारात्मक परिवर्तन ल्याउने ऐतिहासिक अवसर बन्नेछ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय