
कैलाली । काठमाडौंबाट लुटिएको प्रहरीको पेस्तोलसहित कैलालीका एक युवक पक्राउ परेका छन्।
घोडाघोडी नगरपालिका–१ का २३ वर्षीय आकाश शाहीलाई प्रहरीले प्रयोग गर्ने टाइप–५४ लेखिएको चाइनिज पेस्तोलसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी /सुचना अधिकारी राज कुमार सिंहका अनुसार पक्राउ बेलामा शाही लागुऔषध सेवनका कारण नशामा लठ्ठिएको अवस्थामा फेला परेका थिए।

‘उनी अझै नशामै रहेका कारण हालसम्म विस्तृत बयान लिन सकिएको छैन,’ डिएसपी सिंहले ले बताए।
उनका अनुसार शाहीका विरुद्ध यसअघि पनि लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएका थिए भने मोटरसाइकल चोरीजस्ता अन्य आपराधिक घटनामा पनि संलग्नताको रेकर्ड रहेको छ।
सोमबार राति आफ्नै गाउँका युवासँग झगडा र हातपात गरेपछि पीडित पक्षले इलाका प्रहरी कार्यालय सुख्खडमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा मंगलबार सुख्खडका प्रमुख डिएसपी रमेश अवस्थीको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा पेस्तोलसहित फेला पारेको जनाएको छ।



