
बारा – बाराको प्रसौनी गाउँपालिका–२ स्थित दुधौरा पुलमा आइतबार बिहान टिकटक भिडियो बनाउने क्रममा एक युवक खोलामा बेपत्ता भएका छन्।
इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार बिहान करिब ८ः३० बजे पुलबाट खोलामा हाम फाल्दा प्रसौनी–२ का शम्भु गोस्वामीका छोरा २१ वर्षीय बिकी गोस्वामी बेपत्ता भएका हुन्।

उनसँगै हाम फालेका शंकर केसरवानीका छोरा २० वर्षीय अनुराग केसरवानी भने पौडी खेलेर आफैं बाहिर निस्कन सफल भएका छन्। प्रहरीका अनुसार दुवै जना बिहान पुलमा आएर मनोरञ्जनस्वरूप टिकटक भिडियो बनाउन खोज्दै खोलामा हाम फालेका थिए। तर, खोलामा पानीको बहाव तीव्र भएकाले दुर्घटना भएको अनुमान गरिएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय प्रसौनी र सशस्त्र प्रहरी बल नेपाल नं. १२ हेडक्वार्टर बाराको संयुक्त टोली घटनास्थल पुगेको थियो। सशस्त्र प्रहरी विपत् व्यवस्थापन गण निजगढका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्दीप अर्यालको नेतृत्वमा खोलाको करिब एक किलोमिटर क्षेत्रभित्र खोज तथा उद्धार कार्य प्रारम्भ गरिएको छ।
डीएसपी अर्यालका अनुसार खोलाको पानी बढेकाले र बाढीको प्रवाह तीव्र रहेकाले गोताखोरको सहयोगमा खोजकार्य थप सघन बनाइएको छ। स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त प्रयासमा खोलाको आसपासका क्षेत्रमा निरन्तर खोजी भइरहेको भए पनि अहिलेसम्म बेपत्ता बिकी गोस्वामीको कुनै अत्तोपत्तो लागेको छैन।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार वर्षाको कारण खोलामा पानीको बहाव अत्यधिक बढेकाले उद्धार टोलीलाई कठिनाइ भइरहेको छ। “तर खोज तथा उद्धार कार्य कुनै पनि अवस्था रोकिएको छैन, निरन्तर जारी छ,” उनले भने।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको र स्थानीय तहसँग समन्वय गरी खोज कार्यलाई अझ प्रभावकारी बनाउने तयारी गरिरहेको जनाएको छ।



