
सुरक्षा सरोकार — आइतबार दिउँसोदेखि काठमाडौंबाट सवारीसाधनहरू बाहिरिन थालेका छन्। तर पृथ्वी राजमार्गसहित देशका विभिन्न राजमार्गमा पहिरो खस्ने जोखिम कायम रहेको जनाइएको छ।
जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साँझ ५ बजेभित्रै राजीकालीन बसहरू नागढुंगा कटिसक्न अनुरोध गरेको छ।

“जोखिम अझै टरिसकेको छैन, त्यसकारण कुनै पनि दुर्घटना हुन नदिन साँझ ५ बजेभित्रै नागढुंगा पार गर्न अनुरोध गरिएको हो,” कार्यालयका एसपी नरेशराज सुवेदीले बताए।
उनका अनुसार यातायात व्यवसायी तथा टिकट काउन्टरहरूलाई समेत जानकारी दिइसकेको छ। “हामीले सरोकारवाला सबैलाई अनुरोध गरेका छौं— पाँच बजेपछि काठमाडौंबाट बाहिरिने कुनै पनि गाडी नचलाउन,” उनले स्पष्ट पारे।
सामान्यतया काठमाडौंबाट रात्रिकालीन सवारीसाधनहरू दूरीअनुसार बेलुकी ८ बजेसम्म निस्कने गरेका छन्। तर हालको अवस्थालाई ध्यानमा राखी ट्राफिक प्रहरीले सावधानी अपनाउन आग्रह गरेको हो।



