
महोत्तरी—जेन–जी समूहको आन्दोलनका क्रममा देशभरका धेरै प्रहरी कार्यालयमा आगलागी भयो। कार्यालय मात्र नभई सवारीसाधन, फर्निचर र सिपाहीका लत्ताकपडासमेत जले। तर महोत्तरी जिल्ला स्थित जिल्ला ट्राफिक कार्यालय बर्दिवास भने सुरक्षित रह्यो।
कार्यालयलाई जोगाउन प्रमुख प्रहरी निरीक्षक लक्ष्मिराज जोशी र यहाँ कार्यरत अन्य प्रहरीहरूले सक्रिय भूमिका खेलेका थिए। उनीहरूले स्थानीय समुदायसँग सधैं मैत्रीपूर्ण र विश्वासपूर्ण सम्बन्ध विकास गर्दै आएका थिए। यही सम्बन्धको कारण स्थानीयहरूले पनि प्रहरीलाई साथ दिए र कार्यालय सुरक्षित राख्न सघाए।

समीक्षामा, ट्राफिक प्रदेशका अन्य सबै जिल्लाका कार्यालयमा क्षति पुग्दा महोत्तरीमा भने एक ढुंगासमेत प्रहार भएन। स्थानीय बासिन्दाले पनि प्रहरीको संयम र पहललाई उच्च मूल्याङ्कन गर्दै, “यदि यही प्रयास अन्यत्र भए पनि प्रहरी कार्यालयहरू जोगिन सक्थे,” बताएका छन्।
यस घटनाले देखाएको छ कि चुनौतीपूर्ण परिस्थितिमा सुरक्षा सुनिश्चित गर्ने एक मात्र उपाय भनेकै समुदाय र प्रहरीबीचको विश्वास र सहकार्य हो।



