
• आभुषण तिम्सिना
२ महिनामा धेरै केहि गर्न सकिँदैन। पहाड पल्टियो भने मात्रै हो, नत्र म्याद लम्बिने पनि सम्भावना देखिँदैन। तपाइँले “बनाउँछु” भन्नुभएको किरिया पुत्री भवन त सुरु पनि हुन्छ कि हुँदैन, थाहा छैन।

तपाइँले भौतिक सुधारका कुरामा ध्यान कम तर पेशागत व्यवसायिकताको विषय सुधारमा धेरै ध्यान दिनु उपयुक्त हुन्छ। जस्तै अहिले नेपाल प्रहरीका मुद्दा अनुसन्धान गर्ने कार्यालयहरूमा हजारौँको सङ्ख्यामा जघन्य, गम्भीर प्रकृतिका मुद्दाहरू पेण्डिङमा छन्। तीहरूको अविलम्ब अनुसन्धान सुरु गराउने निर्णय गर्नुस्।
नेपाल प्रहरीका गाडीहरूका प्रदूषण पास गराउने काम गर्नुस्। गाडीहरूको दर्ता नवीकरण कार्य सुरु गराउनुस्। सबै सरकारी सवारी साधनहरूको बीमा अद्यावधिक गराउनुस्। म्याद नाघेका अश्रु ग्याँस सेलहरूलाई तत्कालै नष्ट गराउने काम गर्नुस्।
प्रहरीका सबै चौकी तहका इकाइहरूमा फलोवर्स राख्न सुरु गर्नुस्, ताकि दुर्गम स्थानमा कार्यरत जवानहरूले तातो भात समयमा खान पाउन। प्रहरीका अस्थायी पोस्टहरू, जसको दरबन्दी आएको छैन अथवा पटक–पटक माग्दा पनि सरकारले दरबन्दी स्वीकृत गर्दैन, ती स्थानहरूबाट यदि नयाँ दरबन्दी स्वीकृत सरकारले गर्दैन भने तत्कालै प्रहरी हटाउने आदेश दिनुस्।
दरबन्दीभन्दा कम रहेका प्रहरी इकाइहरूमा दरबन्दी पूर्ति गर्ने तत्काल थालनी गर्नुस्। सरुवा बढुवा नगर्नुस् तर दरबन्दीका मानिसलाई दरबन्दीमा खटाउने कार्यको कडाइका साथ सुरुवात गर्नुस्। प्रहरी ऐन र नियमावलीले दिएका अधिकारहरूको प्रयोग, सदुपयोग, उपयोग गर्न सुरुवात गर्नुस्।
अहिले सामाजिक सञ्जालमा बग्रेल्ती आउने गरेका “खापुङ यस्ता”, “खापुङ उस्ता” भनेर आउने बेकारका वस्तुहरूलाई सकेसम्म कम गराउनुस्। विवादास्पद मानिसहरूसँग सामाजिक सञ्जालमा तस्बिरहरू आउन सक्छन्, तीप्रति सचेत हुनुस्।
फोटो खिचाएर “फलानो दाइ र भाउजू”, “फलानो अंकल” भनेर सामाजिक सञ्जाल भर्नेहरूलाई निरुत्साहित गर्नुस्। प्रहरीले खाना बनाउन तोकेको सूचना, फ्लस गर्न तोकेको सूचना जस्ता कुराहरू हटाउनुस् (नेपाली जनता सबैले तपाइँको घरमा मेरो घरमा जस्तै समयमा पकाएर खान सक्ने अवस्था छैन, कामबाट फर्किएर हतार हतार खाना बनाएर खाएर अर्को वैकल्पिक काममा जानुपर्ने बाध्यतामा जनता छन्। होइन भने खोज्नुस् त — नेपाल प्रहरी प्रधान कार्यालयमा कार्यरत धेरैजसो प्रहरी कर्मचारीहरू सहायक कामको रूपमा अन्य काम गर्छन् कि गर्दैनन्?)।
नेपाल प्रहरीको काठमाडौंस्थित तालिम केन्द्र, गण, प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरूमध्ये कति त सरुवा भएर काठमाडौं छाड्नुपर्ने भयो भने जागिर नै छाड्ने भन्छन्। किन? किनभने प्रहरीको मात्रै जागिरले उनीहरूको परिवार चल्दैन, त्यसैले यहाँ कुनै पेशा गरेका छन्। त्यसैले कुकरको सिटीको समय र फ्लसको समय तोक्ने काम बन्द गराउनुस्।
काठमाडौंका सडकमा गुड्ने ट्याक्सी र मोटरसाइकलका चालकहरूलाई चेकिङको नाममा दिइने दुःख दिन बन्द गर्नुस्। यदि बन्द नगर्ने हो भने कम्तिमा “करोड हाराहारीमा” वा करोडभन्दा माथिका गाडीहरूलाई पनि रोकेर कागजात हेर्नुपर्ने नियमको थालनी गर्नुस्।
“करोडभन्दा माथिका गाडी रोक्नै डराउने, कमजोर नागरिकका सवारी साधनलाई चोकै पिच्छे समाउने” प्रवृत्तिको अन्त्य गर्नुस्। प्रहरीका हाकिमका गाडीहरूले रेड लाइट पालना नगर्ने, मन्त्री र उच्च पदस्थहरूले रेड लाइटको पालना नगर्ने प्रवृत्तिको अन्त्य गराउनुस्।
किनभने रेड लाइट पालना गर्नै नपर्ने भनेको शव बाहन, एम्बुलेन्स, दमकल, इमरजेन्सी बालेका बिरामी बोक्ने गाडीहरू, कुनै फिल्ड स्तरमा खटिएको नेपाल प्रहरीको गाडीले मात्रै हो — त्यो पनि इमरजेन्सी परेको अवस्थामा।
सारा नागरिकलाई रेड लाइट बालेर रोक्ने, अनि मन्त्री, सचिव, उच्च पदस्थ र प्रहरीका हाकिमका गाडीहरूले रेड लाइट पालना नगर्ने कुसंस्कारको अन्त्य गराउनुस्। गृह मन्त्रालय वा अन्य स्थानमा काम नपरी नजानुस्। बरु यो २ महिना प्रहरीकै समस्या खोज्नमा लगाउँछु भनेर आवश्यक पर्दा मात्रै अन्य निकायमा जाने प्रतिबद्धता व्यक्त गर्नुस्।
प्रहरीका समस्या खोज्नुस्, समाधानका उपाय खोज्ने तिर लाग्नुस् खापुङ साब यो दुई महिनामा। हिजोसम्म “दिपक थापा हाइ हाइ” भन्नेले आज हेर्नुस् त, दिपक थापालाई छाडिसके। भोलि तपाइँलाई पनि छाड्नेछन्, तर तपाइँले सुरु गरेका राम्रा संस्कारलाई कसैले बिर्सिने छैनन्।
जय होस्।



