
सुर्खेत, जेठ १९ — जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्रोत नखुलेको करिब ३ करोड रुपैयाँ बराबरका सुन तथा चाँदीका गरगहना, लाखौं रुपैयाँ नगद र नगद गन्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ। पछिल्लो समय आर्थिक अपराध तथा अवैध कारोवार नियन्त्रणमा प्रहरी सक्रियता बढिरहेका बेला यो कारबाहीलाई सुर्खेत प्रहरीको महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ।
प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालिका–६ तल्लो बजारस्थित शिव इम्पोरियम नामक कपडा पसलमा भारतीय रुपैयाँ तथा सुन–चाँदीका गरगहना धितो राखी ब्याजमा नगद ऋण प्रवाह भइरहेको भन्ने विशेष सूचनाका आधारमा आइतबार प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो।

खानतलासीका क्रममा पसलबाट विभिन्न दरका नेपाली तथा भारतीय रुपैयाँ, ठूलो परिमाणमा सुन तथा चाँदीका गरगहना, नगद गन्न प्रयोग हुने मेसिनलगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१० स्थायी घर भई हाल वीरेन्द्रनगर–६ बसोबास गर्दै आएका ५२ वर्षीय श्याम सुन्दर अग्रवाल (बालाजी) लाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार अग्रवालको साथबाट नेपाली रुपैयाँ २१ लाख ११ हजार ५००, भारतीय रुपैयाँ ८ लाख ११ हजार ८००, विभिन्न किसिमका सुन तथा चाँदीका गरगहना राखिएका ५८ वटा पोका तथा डिब्बा तथा नगद गन्ने एक थान मेसिन बरामद गरिएको छ। बरामद सुन तथा चाँदीका गरगहनाको अनुमानित मूल्य करिब ३ करोड रुपैयाँ रहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले बरामद सामग्री नियन्त्रणमा लिएर पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ। बरामद गरिएका गरगहनाको वास्तविक स्वामित्व, कारोवारको प्रकृति तथा रकमको स्रोतबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध कारोवार, लागूऔषध नियन्त्रण, आर्थिक अपराध तथा संगठित अपराधविरुद्ध निगरानी बढाएको देखिन्छ। प्रहरी उपरीक्षक ठाकुर प्रसाद पोखरेलको नेतृत्वमा विभिन्न आपराधिक गतिविधिविरुद्ध सञ्चालन गरिएका कारबाहीले जिल्लामा प्रहरीको उपस्थितिलाई थप प्रभावकारी बनाएको स्थानीयवासीको धारणा छ।



