
• राजेन्द्रबाबु रेग्मी
२०६० सालको फागुन महिनाको कुरा हो । हालका प्रहरी महानिरीक्षक दिपक थापा सर त्यतिबेला प्रशासन विभागअन्तर्गत प्रशासन शाखामा प्रहरी निरीक्षकको भूमिकामा कार्यरत हुनुहुन्थ्यो । म भने प्रहरी प्रधान कार्यालयको कार्य विभागअन्तर्गत राजनैतिक शाखामा प्रहरी निरीक्षकको रूपमा काम गरिरहेको थिएँ ।
उहाँसँगको पहिलो भेटमै उहाँको सरलता, आत्मीयता र नेतृत्वगुण झल्किएको थियो । मैले ‘जय नेपाल’ भन्दै अभिवादन गर्दा उहाँले मधुर स्वरमा हात मिलाउँदै “के छ रेग्मी साहेब” भन्नु भएको त्यो क्षण मेरो स्मृतिमा अझै ताजा छ ।

त्यतिबेलाको चुनौतीपूर्ण परिस्थितिमा पनि उहाँले मेरो क्षमता र योग्यता चिन्नु भयो । माओवादी द्वन्द्वको कठिन समयमा प्रहरी स्कुल सञ्चालन गर्नु सजिलो थिएन । त्यहीबीच मेरो सरुवा तनहुँस्थित दिपेन्द्र बोर्डिङ स्कुलमा भयो । श्रीमती र आठ महिनाको बालकलाई लिएर जिम्मेवारी सम्हाल्न पुगेको म निरन्तर उहाँसँग सल्लाह र सहयोगमा निर्भर रहँदै गएँ । करिब २८ महिनाको कार्यकालमा स्कुलको खातामा ९२ लाख रुपैयाँ संकलन गर्ने उपलब्धि हासिल गर्न सकेँ, जुन मेरो आत्मबलको मात्र नभई उहाँले दिनुभएको प्रेरणा र नेतृत्वको परिणाम थियो ।
जीवनका उतारचढावमा कहिलेकाहीँ आफ्नै नजिकका भनिएका मान्छेहरूले निराश पार्दा, मेरो वास्तविक धरातल बुझ्ने र सहयोगको आश्वासन दिने दिपक थापा जस्ता वरिष्ठ अधिकृत हुनुहुन्थ्यो । उहाँले भन्नु हुन्थ्यो — “रेग्मी साहेब, नआत्तिनु होला, तपाईँलाई म अन्याय हुन दिन्नँ।”
शिक्षकको रूपमा समाजमा शिक्षा र ज्ञानको उज्यालो बाँडेपछि प्रहरी सेवामा प्रवेश गर्नुभएका थापा सरमा आत्मअनुशासन, सकारात्मक सोच, धैर्य र सबैलाई समेट्ने अद्वितीय क्षमता थियो । न गुट न उपगुटमा अडिग रहनु भएको उहाँले आफ्नो कार्यकालमा न्याय र पारदर्शिता कायम राख्न सफल हुनुभयो ।
प्रहरी सेवामा निष्कलंक छवि बनाउँदै अवकाश पाउनु आफैंमा ठूलो गौरव हो, जुन थापा सरले हासिल गर्नुभयो । उहाँमा राज्यले दिने आगामी जिम्मेवारी पनि सहजै सम्हाल्ने क्षमता र नैतिक साहस रहेको छ भन्नेमा कुनै शंका छैन ।
बिभागभित्र टुट्दै गएको भाइचारा, आस्था र विश्वासलाई पुनर्जीवित गर्दै संस्थालाई नयाँ ऊर्जा दिने कार्यमा उहाँले निर्वाह गर्नुभएको योगदान प्रशंसनीय छ । यस उपलब्धिप्रति हार्दिक बधाई ।



