
नेपालगंज —बर्दिया प्रहरीले लागुऔषध ब्राउन सुगरसहित जिल्लाको सदरमुकाम गुलरियाबाट चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार, गुलरिया नगरपालिका–११ गणेशपुर बाईपासबाट ठाकुरबाबा नगरपालिका–४ का २१ वर्षीय अबिशेष चौधरी र सोही नगरपालिका–१ का २१ वर्षीय विशाल खत्रीलाई ४७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो।

त्यसैगरी, गुलरिया नगरपालिका–७ महाकवि टोलस्थित बाईपास रोडबाट गुलरिया नगरपालिका–६ बस्ने ३२ वर्षीय अजमेर अली नाउलाई १८० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यस्तै, गुलरिया नगरपालिका–६ शान्तिटोलबाट गुलरिया नगरपालिका–७ का ४० वर्षीय नुर महम्मद नाउलाई २७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।
लागुऔषधविरुद्धको कारबाहीअन्तर्गत पक्राउ परेका चारै जनाविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।



