
काठमाडौं । सरकारले गत आर्थिक वर्षका लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र माइलस्टोनहरूको कार्यान्वयन प्रगतिमा गृह मन्त्रालय पहिलो भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको ‘नीति तथा प्रमुख कार्यहरूको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२’ अनुसार गृह मन्त्रालयले तोकिएका माइलस्टोनमध्ये ८८ प्रतिशत पूरा गरेको हो।
बितेको पाँच वर्षयताकै उत्कृष्ट प्रगति मानिएको यो उपलब्धि कांग्रेस नेता रमेश लेखक नेतृत्वको गृहमन्त्रालयले हासिल गरेको हो। मन्त्रालयले शासकीय सुधारतर्फ १०६ माइलस्टोनमध्ये ९३ सम्पन्न गरेको र १३ माइलस्टोन चालु आर्थिक वर्षमा जारी रहेको जनाएको छ।

शासकीय सुधार क्षेत्रमा गृह मन्त्रालयले अघिल्ला वर्षहरूमा क्रमशः २०७७/०७८ मा ८६.८ प्रतिशत, २०७८/०७९ मा ६४.५ प्रतिशत, २०७९/०८० मा ६९.१ प्रतिशत र २०८०/०८१ मा ६८ प्रतिशत प्रगति गरेको थियो।
प्रतिवेदनअनुसार दोस्रोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ८५ प्रतिशतसहित रहेको छ भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७८ प्रतिशत माइलस्टोन सम्पन्न गरेको छ।
गृहमन्त्री रमेश लेखकले पहिलो वर्ष नीतिगत तथा कानूनी सुधार, व्यवस्था विरोधी गतिविधि नियन्त्रण, अपराध अनुसन्धान, प्रहरी सेवामा सुधार, लागूऔषधविरुद्ध महाअभियान, विपद् व्यवस्थापन, भूकम्पपछिको पुनर्निर्माण, राजस्व चुहावट नियन्त्रण, सीमापार अपराध न्यूनीकरण, अध्यागमन प्रणाली सुधार र निःशुल्क हेलि उद्धारलाई प्राथमिकतामा राखेर काम गरेको बताए।



