
काठमाडौं — केही अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा “१३ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले एक नम्बर गणभित्र एरिया हद (एक प्रकारको नजरबन्द) तोकेर एक वर्षभन्दा बढी समयदेखि गैरकानुनी रूपमा राखिएको छ” भन्ने समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयले खण्डन गरेको छ।
प्रहरी प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा सो समाचारमा कुनै सत्यता नभएको स्पष्ट गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “कुनै पनि प्रहरी कर्मचारीलाई नजरबन्दमा नराखी, प्रहरी आचरण विपरीत कार्य गर्ने केही प्रहरी कर्मचारीहरूको सम्बन्धमा पटक–पटक आम सर्वसाधारणबाट गुनासो तथा उजुरी प्राप्त भएकोले निजहरूलाई प्रहरी नियमावली बमोजिम आवश्यक छानबिनका लागि सुपरिवेक्षण तथा अनुगमन महाशाखामा झिकाई अनुसन्धान कार्य भइरहेको हो।”

नेपाल प्रहरीले कानुन कार्यान्वयन, मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै भ्रामक समाचारमा विश्वास नगर्न आमसर्वसाधारणलाई आग्रह गरिएको छ।
विज्ञप्तिमा प्रहरी नायव महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेको हस्ताक्षर छ।




