
काठमाडौं — गृहमन्त्री रमेश लेखकले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच ‘अनलाइन ट्राफिक सचेतना कक्षा’ को औपचारिक शुभारम्भ गरेका छन्।
अबदेखि मापसे, लेन अनुशासन उल्लङ्घनजस्ता ट्राफिक नियम विपरीतका गतिविधिमा संलग्न व्यक्तिहरूले ट्राफिक कार्यालयमै पुग्नुपर्ने झन्झट बिना नै अनलाइनमार्फत सचेतना कक्षा लिन सक्नेछन्। यो सुविधा ‘नागरिक एप’ मार्फत उपलब्ध हुने बताइएको छ।

कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले प्रविधिको प्रयोगबाट प्रहरी सेवामा नयाँ आयाम थपिएको उल्लेख गर्दै भने, “नेपाल प्रहरी प्रविधिमा एकपछि अर्को गर्दै अग्रसर भइरहेको छ, सरकार पनि प्रहरीलाई प्रविधियुक्त बनाउन निरन्तर सक्रिय छ।”
यद्यपि उनले प्रविधिको प्रयोगसँगै जोखिम र जटिलता आउन सक्ने भन्दै त्यसप्रति सतर्कता आवश्यक रहेको धारणा राखे।
सो अवसरमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले ट्राफिक सचेतना कक्षालाई अनलाइन प्रणालीमा रूपान्तरण गर्नु प्रविधिमैत्री सेवा प्रवाहको अर्को महत्वपूर्ण अध्याय भएको बताए।
“नेपाल प्रहरीले समय र समाजको गति बुझ्दै सेवामा प्रविधिको प्रयोगलाई सदैव प्राथमिकता दिँदै आएको छ,” उनले भने, “यो कक्षा ट्राफिक व्यवस्थापनमा नयाँ प्रविधिको उपयोग र नागरिकमैत्री सेवा विस्तारको उत्कृष्ट उदाहरण हो।”
आईजीपी थापाले पछिल्लो समय ट्राफिक प्रहरीले प्रयोगमा ल्याएका प्रविधिहरूले सडक दुर्घटनाको रोकथाम र न्यूनीकरणमा उल्लेखनीय योगदान गरेको पनि बताए।
उनले सेवाग्राहीहरूका लागि अनलाइन प्रणाली सहज हुने भएकाले नागरिकको सक्रिय सहभागिता र सहयोगप्रति आशावादी रहेको जनाए।
यस कार्यमार्फत नेपाल प्रहरीले नागरिक सेवा प्रणालीमा डिजिटल संक्रमणलाई थप सशक्त बनाउँदै लैजाने स्पष्ट संकेत दिएको छ।



