सिन्धुली — मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १६ वर्षदेखि फरार रहेका अभियुक्त सिन्धुली प्रहरीको सक्रियतामा राजन तिमल्सिना काठमाण्डौंबाट पक्राउ परेका छन्। पीडितलाई विवाहको प्रलोभन देखाई भारतमा बेचबिखन गरेको आरोपमा फरार रहेका तिमल्सिनालाई प्रहरीले गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको हो।

२०६५ साल पुस २ गते काठमाडौंको सुन्दरीजल गा.वि.स.–४ (हालको गोकर्णेश्वर नगरपालिका) का राजन तिमल्सिनाले सिन्धुलीस्थित हाज्मा कम्पनीमा पियनको काम गरिरहेकी ३० वर्षीया एक महिलालाई विवाह गर्ने आश्वासन दिँदै भारत लगेका थिए। पीडित त्यसबेला केवल १४ वर्षकी किशोरी थिइन्।

तिमल्सिनाले उनलाई भारत पुर्याई बेचबिखन गरेको भन्दै पीडितकी दिदीले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। जाहेरीपछि प्रहरीले अनुसन्धान अगाडि बढाए पनि तिमल्सिना फरार भएका थिए।

१६ वर्षअघि घटनापछि लुकीछिपी बस्दै आएका तिमल्सिनालाई प्रहरीले विशेष सूचनाको आधारमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ स्थित बसोबास गरिरहेको अवस्थामा २०८२ असार २४ गते पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिएर हाल जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हाल उनलाई जिल्ला अदालत सिन्धुलीबाट अभियुक्तको थप अनुसन्धानका लागि पाँच दिनको म्याद अनुमति लिइएको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय