
लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ उस्ताबेंसीमुनि शनिबार अपराह्न भएको बोलेरो जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्।
बेंसीसहरबाट छिनखोलातर्फ जाँदै गरेको ग १ ज ६४७० नम्बरको यात्रुबाहक जिप करिब साढे ४ बजेतिर उकालोको घुमाउरो सडकबाट अनियन्त्रित भई झन्डै ४०–५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मर्स्याङ्दी–७ उस्ताकी ४० वर्षीया त्रिवेणी घले र ३५ वर्षीया पुष्पा घलेको मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा उद्धार गरिएका उनीहरूलाई बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार दुर्घटनामा घाइते भएकामध्ये तीन जनालाई थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएको छ। रिफर हुनेमा ४० वर्षीया विमलादेवी घले, ३३ वर्षीया रिता गुरुङ र ७ वर्षीय सफल गुरुङ रहेका छन्।
अन्य घाइतेमध्ये सन्तबहादुर घर्ती (६२), चालक करण अधिकारी (२९), रुद्रमान घले (४८), प्रिशिका गुरुङ (१०) र सोमलाल तामाङ (३८) को अवस्था मध्यम रहेको छ। त्यस्तै प्रकाश गुरुङ (३१), विमान घले (१४), इन्द्र घले (९) र रितेश गुरुङ (११) सामान्य घाइते भएका छन्।
घाइतेहरूको उपचार हाल बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।



