
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बाढी तथा पहिरोबाट प्रभावित रसुवा र नुवाकोट जिल्लाको स्थलगत अवलोकन गरेका छन्।
प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा पुगेर आईजीपी कार्कीले जारी खोज तथा उद्धार कार्य, सुरक्षा व्यवस्थापन तथा प्रहरी परिचालनको अवस्थाबारे स्थलगत जानकारी लिएका हुन्।

स्थलगत निरीक्षणका क्रममा उनले उद्धार तथा राहत कार्यमा प्रत्यक्ष रूपमा खटिएका प्रहरी कर्मचारीसँग भेटघाट गर्दै उनीहरूको कार्यसम्पादनबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएका थिए। कठिन भौगोलिक अवस्था, जोखिमपूर्ण क्षेत्रमा निरन्तर खटिनुपर्ने परिस्थिति तथा विपद्को चुनौतीका बीच जिम्मेवारी निर्वाह गरिरहेका प्रहरी कर्मचारीको मनोबल उच्च राख्न आईजीपी कार्की आफैं प्रभावित क्षेत्रमा पुगेका हुन्।
उनले विपद्को समयमा नागरिकको जीवन रक्षा, खोज तथा उद्धार, जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरण र प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न प्रहरीको भूमिका अझ प्रभावकारी बनाउन निर्देशन दिएका थिए।
प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै आईजीपी कार्कीले उद्धार कार्यमा उच्च सतर्कता अपनाउन, जोखिमको सही मूल्यांकन गरी समन्वयात्मक रूपमा काम गर्न तथा प्रभावित नागरिकलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न निर्देशन दिएको बताइएको छ।
विपद्को अग्रपंक्तिमा रहेर काम गरिरहेका प्रहरी कर्मचारीको मनोबल बढाउन संगठन प्रमुख स्वयं फिल्डमा पुग्नुले प्रहरी जनशक्तिमा थप उत्साह र जिम्मेवारीबोध पैदा गरेको छ।
जोखिमपूर्ण अवस्थामा समेत प्रहरी कर्मचारीसँगै फिल्डमा पुगेर उनीहरूको हौसला बढाएको भन्दै आईजीपी कार्कीको यस कदमलाई प्रहरी संगठनभित्र सकारात्मक रूपमा लिइएको छ। संगठन प्रमुख स्वयं मैदानमा पुग्दा उद्धारमा खटिएका प्रहरी कर्मचारीले आफूहरू एक्लै नरहेको र नेतृत्व आफ्नो साथमा रहेको अनुभूति गर्ने भएकाले यसले मनोबल उच्च राख्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।
विपद्को समयमा प्रहरीको प्राथमिक जिम्मेवारी नागरिकको जीवन रक्षा र सुरक्षा भएकाले नेतृत्व तहबाट हुने यस्ता स्थलगत अनुगमनले उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




