
धनगढी । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको २०८३ साल साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले रावतलाई अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन र नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने कार्यमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको हो।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले रावतलाई प्रशंसापत्र प्रदान गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी इकाइमा योजनाबद्ध रूपमा प्रहरी परिचालन गरी अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम राख्न पुर्याएको योगदानको उच्च कदर गरेका छन्।
प्रशंसापत्रमा रावतले संगठनले सुम्पिएको जिम्मेवारी लगनशील, कर्तव्यनिष्ठ र प्रभावकारी रूपमा निर्वाह गर्दै आम नागरिकमाझ प्रहरी संगठनको गरिमा तथा श्रीवृद्धिमा योगदान पुर्याएको उल्लेख गरिएको छ।
प्रदेश प्रहरी कार्यालयले आगामी दिनमा पनि अपराध अनुसन्धान, अपराध नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनका क्षेत्रमा रावतबाट महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरेको छ।
रावत हाल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत छन्। उनलाई साउन महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिनुलाई जिम्मेवारीप्रति प्रतिबद्धता र कार्यसम्पादनको मूल्यांकनका रूपमा हेरिएको छ।




