भैरहवा । नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, रुपन्देहीले प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेलाई २०८३ साल साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ (Police of the Month) घोषणा गरेको छ।

प्रदेश प्रहरी कार्यालय भैरहवाका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले घिमिरेलाई उत्कृष्ट प्रहरी घोषणा गर्दै प्रशंसापत्र प्रदान गरेका हुन्।

प्रहरी निरीक्षक घिमिरेले नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाको केन्द्रीय अनुसन्धान इकाई, साइबर इकाई तथा दूरसञ्चार समन्वय शाखाको शाखा प्रमुखका रूपमा जिम्मेवारी निर्वाह गर्दै उत्कृष्ट कार्यसम्पादन गरेको कार्यालयले जनाएको छ।

मातहतका प्रहरी इकाईहरूको अनुरोधअनुसार विभिन्न घटनास्थलमा खटिई अनुसन्धान कार्यमा सहयोग पुर्‍याउनुका साथै दूरसञ्चार समन्वय शाखामार्फत अपराध अनुसन्धानका लागि आवश्यक प्राविधिक सहायता प्रदान गरेको कार्यालयले उल्लेख गरेको छ।

त्यस्तै, कार्यालयको दैनिक कार्यसम्पादन, शाखाको अभिलेखीकरण तथा स्वीकृत कार्ययोजनाअनुसारका गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्नुका साथै कार्यालयीय काममा समेत कर्तव्यनिष्ठ भई प्रशंसनीय भूमिका निर्वाह गरेको जनाइएको छ।

घिमिरेले विभिन्न सार्वजनिक निकाय तथा सरोकारवाला पक्षसँग प्रभावकारी समन्वय र सहकार्य कायम गर्नुका साथै कार्यालय व्यवस्थापन, वातावरणीय सुधार र कार्यालय सौन्दर्यीकरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको कार्यालयले जनाएको छ।

उनको योगदानले कार्यालयको समग्र कार्यवातावरण तथा संस्थागत छवि अभिवृद्धिमा सहयोग पुगेको भन्दै त्यसको कदरस्वरूप साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो।

प्रहरी निरीक्षक घिमिरेलाई २०८३ भदौ ३ गते आयोजित कार्यक्रममा प्रशंसापत्र प्रदान गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय