
बर्दिया । संगठनको नीति तथा निर्देशनअनुसार प्रदान गरिएको जिम्मेवारीलाई उच्च व्यावसायिकता, इमानदारी र प्रभावकारी ढंगले सम्पादन गरेको मूल्यांकन गर्दै प्रहरी वरिष्ठ नायव निरीक्षक जयप्रकाश भट्टलाई २०८३ साल साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरिएको छ।
हाल मैनापोखरमा कार्यरत भट्टले आफ्नो जिम्मेवारी सम्हालेदेखि अवैध गतिविधि नियन्त्रण, सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण तथा लागूऔषध कारोबारविरुद्ध प्रभावकारी रूपमा काम गर्दै आएको जनाइएको छ।

उनको नेतृत्व तथा सक्रियतामा भारतबाट भन्सार छली नेपालतर्फ भित्र्याइएका विभिन्न मालसामान नियन्त्रणमा लिनुका साथै लागूऔषध (ब्राउन सुगर) बरामद गर्ने र त्यसको ओसारपसारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउने कार्यमा उल्लेखनीय सफलता हासिल भएको बताइएको छ।
त्यसैगरी, अवैध रूपमा माटो उत्खनन गर्ने तथा प्राकृतिक स्रोतको गैरकानुनी दोहनमा संलग्न व्यक्तिहरूमाथि समेत निगरानी बढाउँदै उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा उपस्थित गराउन भट्टले महत्वपूर्ण भूमिका निर्वाह गरेको मूल्यांकन गरिएको छ।
सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी तथा लागूऔषध नियन्त्रणका लागि निरन्तर सक्रिय रहँदै आएको र जिम्मेवारीप्रति प्रतिबद्ध भएर काम गरेको भन्दै उनको कार्यसम्पादनको कदरस्वरूप साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।
प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टलाई एक कर्तव्यनिष्ठ, अनुशासित र परिणाममुखी प्रहरी अधिकृतका रूपमा सहकर्मी तथा स्थानीयस्तरमा समेत चिनिने गरिएको छ। कठिन परिस्थितिमा समेत जिम्मेवारीबाट पछि नहट्ने र कानून कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रहरी अधिकृतका रूपमा उनको पहिचान बनेको प्रहरी स्रोतको भनाइ छ।
उत्कृष्ट प्रहरी घोषणा भएसँगै भट्टले आगामी दिनमा समेत संगठनले दिएको जिम्मेवारीलाई थप प्रभावकारी ढंगले पूरा गर्ने तथा अपराध नियन्त्रण र नागरिक सुरक्षाका क्षेत्रमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रहरी संगठनले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई हौसला प्रदान गर्ने उद्देश्यले प्रत्येक महिना उत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ। यही क्रममा साउन महिनामा भट्टले पुर्याएको योगदान र कार्यसम्पादनको मूल्यांकन गर्दै उनलाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो।




