अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले २०८३ साल जेठ महिनाका लागि प्रहरी निरीक्षक दीपक सिंह विष्टलाई ‘पुलिस अफ द मन्थ’ (Police of the Month) घोषणा गरेको छ।

हाल इलाका प्रहरी कार्यालय ठाडाडा, अर्घाखाँचीका कार्यालय प्रमुखका रूपमा कार्यरत प्रहरी निरीक्षक विष्टलाई उत्कृष्ट कार्यसम्पादन, नेतृत्व क्षमता तथा अपराध अनुसन्धानमा खेलेको प्रभावकारी भूमिकाको मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार प्रहरी निरीक्षक विष्टले आफ्नो जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दारी, लगनशीलता र व्यावसायिक दक्षताका साथ निर्वाह गर्दै आएका छन्। कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै उनले शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन उल्लेखनीय योगदान पुर्‍याएका छन्।

विशेषगरी २२ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका एक प्रतिवादीलाई पक्राउ गरी सम्मानित अदालतमा उपस्थित गराउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उक्त सफलता जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका लागि उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ।

प्रहरी संगठनको गरिमा उच्च राख्ने गरी जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको तथा अपराध अनुसन्धान र फैसला कार्यान्वयनतर्फ उत्कृष्ट योगदान पुर्‍याएको मूल्याङ्कन गर्दै प्रहरी निरीक्षक विष्टलाई २०८३ साल जेठ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दिवस बहादुर जिसीले प्रहरी निरीक्षक विष्टलाई प्रशंसापत्र प्रदान गर्दै आगामी दिनमा समेत यस्तै समर्पण, व्यावसायिकता र सेवाभावका साथ कार्यसम्पादन गर्न शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय