सुरक्षा सरोकार । प्रहरी संगठनभित्र इमान्दार, कर्तव्यनिष्ठ तथा काबिल प्रहरी अधिकृतका रूपमा परिचित प्रहरी निरीक्षक अच्युत गिरी २०८३ साल जेठ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ (Best Police of the Month) घोषित भएका छन्। उनी लुम्बिनी प्रदेशभर कार्यरत प्रहरी कर्मचारीहरूमध्ये उत्कृष्ट कार्यसम्पादनका आधारमा यो सम्मान प्राप्त गर्न सफल भएका हुन्।

प्रहरी कर्मचारीलाई चुस्त-दुरुस्त रूपमा परिचालन तथा व्यवस्थापन गर्दै भन्सार चोरी पैठारी नियन्त्रण, अपराध नियन्त्रण तथा अनुसन्धान, जनचेतना अभिवृद्धि तथा फैसला कार्यान्वयनको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेबापत उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

प्रहरी निरीक्षक गिरीले आफ्नो कार्यकालभर व्यावसायिकता, अनुशासन र सेवामुखी भावनालाई प्राथमिकतामा राख्दै संगठनको गरिमा उँचो बनाउने कार्य गर्दै आएका छन्। अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै समुदायसँगको सहकार्यलाई सुदृढ बनाउन उनले खेलेको भूमिका समेत प्रशंसनीय रहेको प्रहरी संगठनले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयले गरेको मूल्याङ्कनअनुसार गिरीले जिम्मेवारी सम्हालेको क्षेत्रमा उत्कृष्ट नेतृत्व क्षमता प्रदर्शन गरेका थिए। संगठनका लक्ष्य र प्राथमिकतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै उनले प्रहरी सेवाप्रतिको जनविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

उत्कृष्ट प्रदेश प्रहरीका रूपमा छनोट भएपछि प्रहरी संगठनभित्र तथा शुभेच्छुकहरूबाट उनलाई बधाई तथा शुभकामनाको ओइरो लागेको छ। सहकर्मीहरूका अनुसार प्रहरी निरीक्षक गिरी इमान्दार, मेहनती, नतिजामुखी तथा व्यावसायिक कार्यशैलीका कारण संगठनभित्र उदाहरणीय अधिकृतका रूपमा परिचित छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी भूपेन्द्र खत्रीले उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै प्रहरी निरीक्षक गिरीलाई हार्दिक बधाई ज्ञापन गरेका छन्। साथै आगामी दिनमा समेत यस्तै समर्पण, व्यावसायिकता र सेवाभावका साथ राष्ट्र तथा नागरिकको सुरक्षामा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रहरी संगठनभित्र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले प्रदान गरिने ‘बेस्ट पुलिस अफ द मन्थ’ सम्मानले अन्य प्रहरी कर्मचारीलाई समेत उत्कृष्ट कार्यसम्पादनका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय