
काठमाडौँ । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा एकपछि अर्को ऐतिहासिक सफलता दिलाएकी एरिका गुरुङलाई सम्मान गरेको छ।
एरिकाले गत असोज १७ देखि १९ गतेसम्म मलेसियाको क्वालालम्पुरमा सम्पन्न विश्व कराते महासंघ (WKF) द्वारा आयोजित कराते वान सिरिज ‘ए’ प्रतियोगितामा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्।

नेपाल पुलिस क्लबकी खेलाडीसमेत रहेकी एरिकालाई आफ्नो विभागीय संस्था नेपाल प्रहरीले सम्मान तथा बधाई दिएको हो। सम्मान कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य–सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले एरिकालाई सम्मान गर्दै आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरे।
गत शुक्रबार सम्पन्न प्रतियोगितामा एरिकाले महिला कुमिते ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेकी हुन्। उनले ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेवस्का जुलियालाई पराजित गर्दै स्वर्ण जितेकी थिइन्।
सेमिफाइनलमा हाकोभालाई ७–० ले पराजित गरेकी एरिकाले फाइनलमा मसाक्नीलाई २–० ले हराउँदै ऐतिहासिक जित दर्ता गरेकी थिइन्। कराते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी हुन्।
उक्त कार्यक्रममा नेपाल प्रहरीले अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागिता जनाउने खेलाडीहरूको बिदाइ पनि गरेको थियो। विश्व कराते महासंघको क्यालेन्डरअनुसार असोज ३१ देखि कात्तिक २ सम्म फ्रान्सको पेरिसमा हुने डब्लुकेएफ सिनियर विश्व च्याम्पियनसिपका लागि तयारी भइरहेको छ।
उक्त प्रतियोगितामा स्वनिम मानन्धर र सविना श्रेष्ठ सहभागिता जनाउनेछन्। सविनाले महिला ५५ केजीमुनि र स्वनिमले पुरुष एकल काता इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्।
१३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता तथा राष्ट्रिय टिमका प्रशिक्षक मन्देकाजी श्रेष्ठका अनुसार उनीहरू हाल अन्तिम तयारीमा छन्।




