धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रदेश प्रहरीले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न तथा यात्रा गर्नैपर्ने अवस्था भए सडकको अवस्था र मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

प्रहरीले खोला, नाला तथा नदी किनारमा नजान र पानीको बहाव बढेको अवस्थामा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षामा विशेष ध्यान दिनसमेत अनुरोध गरिएको छ।

वर्षाका कारण सडकमा खाल्डाखुल्डीमा पानी जम्न सक्ने भएकाले सवारीसाधन चलाउँदा गति कम गरी सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। पहिरो, बाढी वा सडक अवरुद्ध भएको स्थानमा जबरजस्ती यात्रा नगर्न पनि भनिएको छ।

त्यस्तै, वर्षाको समयमा विद्युतका तार, पोल तथा अन्य जोखिमयुक्त संरचनाबाट टाढा रहन र बाढी, पहिरो वा अन्य जोखिमको संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा सर्न प्रहरीले अनुरोध गरेको छ।

आपत्कालीन अवस्था सिर्जना भएमा नेपाल प्रहरीको हटलाइन १०० तथा ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न सुदूरपश्चिम प्रदेश प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय