
बाजुरा । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका उप–महानिरीक्षक (डीआईजी) ओम बहादुर राणाले जिल्ला प्रहरी कार्यालय बाजुराको निरीक्षण गर्दै प्रहरी सेवाको प्रभावकारिता र नागरिकमैत्री व्यवहारमा अझ सुधार गर्न निर्देशन दिएका छन्।
निरीक्षणका क्रममा डीआईजी राणाले विकट मानिने बडिमालिका माताको पवित्र भूमि बाजुरा जिल्लास्थित प्रहरी कार्यालयको अवलोकन गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे। उनले कार्यालयको पेरिमिटर, भवन संरचना तथा व्यक्तिगत सरसफाइ अवस्था सन्तोषजनक रहेको बताए।

राणाले शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयले स्थानीय तहका सरकारी कार्यालय, संघ–संस्था, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र भद्रभलादमीहरूसँग राम्रो समन्वय गर्दै काम गरिरहेको उल्लेख गरे। उनले गाउँ–गाउँमा गस्ती, सामुदायिक सचेतनामूलक कार्यक्रम तथा अपराध न्यूनीकरणका प्रयासहरू प्रभावकारी देखिएको बताए।
उनले उपलब्ध जनशक्ति र स्रोत साधनको उचित र प्रभावकारी व्यवस्थापन गर्दै व्यावसायिक निष्ठा र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए। उनले प्रहरी सेवाप्रति जनमानसमा सकारात्मक धारणा अभिवृद्धि गर्न विशेष ध्यान दिन आवश्यक रहेको बताए।
डीआईजी राणाले प्रहरीको आचरण संयमित र सन्तुलित रहनुपर्नेमा जोड दिँदै, स्थानीय नागरिकसँग आपसी सद्भाव र सहकार्यका माध्यमबाट सुमधुर सम्बन्ध कायम गर्न आग्रह गरे। उनले अपराध नियन्त्रणका लागि उपलब्ध स्रोत–साधनको प्रभावकारी प्रयोग गरी संविधानले प्रदत्त मौलिक हक र मानव अधिकारको सम्मान गर्दै सेवा प्रवाह गर्न निर्देशन दिए।
त्यसैगरी, उनले फरार अभियुक्त, गुण्डागर्दी, लागुऔषध ओसारपसार जस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याई दण्डहीनताको अन्त्य गर्न तथा कानूनी शासनको प्रत्याभूति दिलाउन प्रहरी अग्रणी बन्नुपर्ने बताए।
डीआईजी राणाले परिवर्तनलाई आत्मसात गर्दै परिवर्तनका संवाहकको रूपमा निष्पक्ष, स्वच्छ र पीडितमैत्री प्रहरी सेवा प्रदान गर्न प्रहरीलाई आह्वान गरे। उनले सबै प्रहरी कर्मचारीहरूलाई उच्च अनुशासनमा रही कार्य सम्पादन गर्न निर्देशनसमेत दिए।



