
सुर्खेत । कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८२/०८३ मा सडक दुर्घटनाको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा २३ प्रतिशतले वृद्धि भएको छ। यद्यपि दुर्घटनाबाट हुने मृत्यु दरमा ३ प्रतिशतले कमी आएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतले जनाएको छ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) मुकुन्दप्रसाद रिजालले सार्वजनिक गरेको वार्षिक कार्यप्रगति विवरणअनुसार गत आर्थिक वर्ष प्रदेशभर १ हजार १ सय ९७ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १ सय ३५ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय ७ जना घाइते भएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ८६ वटा दुर्घटना हुँदा १ सय ३९ जनाको मृत्यु र २ हजार ८ जना घाइते भएका थिए।

एसपी रिजालका अनुसार सवारी साधनको तीव्र वृद्धि, ग्रामीण तथा जोखिमयुक्त सडकमा सवारी पहुँच विस्तार, ट्राफिक जनशक्तिको अभाव, सडक सुरक्षा पूर्वाधारको कमी तथा प्राविधिक रूपमा कमजोर सवारी साधनका कारण दुर्घटना बढेका हुन्। गत वर्षको तुलनामा प्रदेशमा सवारी दर्ता १६.२७ प्रतिशतले वृद्धि भएकाले पनि दुर्घटनाको जोखिम बढेको उनले बताए।
प्रहरीको तथ्यांकअनुसार तीव्र गति सडक दुर्घटनाको प्रमुख कारण बनेको छ। कुल दुर्घटनामध्ये करिब ६२ प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएका छन्। त्यसपछि चालकको असक्षमता, मादक पदार्थ सेवन, यान्त्रिक समस्या, ब्रेक फेल, ओभरटेक तथा मौसमजन्य कारण प्रमुख रहेका छन्। चालकको लापरबाही, ट्राफिक नियमको उल्लङ्घन, राजमार्गमा छाडा चौपाया र ओभरलोड पनि दुर्घटनाका महत्वपूर्ण कारणका रूपमा उल्लेख गरिएको छ।
सवारी साधनका आधारमा हेर्दा मोटरसाइकल सबैभन्दा बढी दुर्घटनामा संलग्न देखिएको छ। गत आर्थिक वर्ष भएका दुर्घटनामध्ये करिब ४७ प्रतिशतमा मोटरसाइकल संलग्न रहेको प्रहरीको तथ्यांक छ। अत्यधिक दुई पाङ्ग्रे प्रयोग, असुरक्षित यात्रा, चालकको अनुभवको कमी तथा मोबाइल फोन प्रयोग गर्दै वा मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्तिले मोटरसाइकल दुर्घटना बढाएको प्रहरीको निष्कर्ष छ।
जिल्लागत रूपमा सुर्खेतमा सबैभन्दा बढी ६ सय ९० वटा दुर्घटना भएका छन्। त्यसपछि रुकुम पश्चिम, दैलेख, सल्यान र जाजरकोट रहेका छन्। मुगुमा सबैभन्दा कम १७ वटा दुर्घटना भएको तथ्यांकले देखाएको छ। सुर्खेतमा राष्ट्रिय राजमार्ग, तीव्र सहरीकरण, व्यापारिक गतिविधि र सवारी चाप बढी भएकाले दुर्घटनाको संख्या उच्च रहेको प्रहरीको विश्लेषण छ।
यता, ट्राफिक कारबाहीतर्फ भने आर्थिक वर्ष २०८२/०८३ मा कारबाही संख्या २३ प्रतिशत र राजस्व करिब २० प्रतिशतले घटेको कार्यालयले जनाएको छ। एसपी रिजालका अनुसार ट्राफिक नियम पालनामा सुधार, ई–चलान प्रणालीको कार्यान्वयन, जनचेतनामूलक कार्यक्रम तथा ट्राफिक प्रहरीको सक्रियताले यसमा सकारात्मक प्रभाव पारेको हो।
प्रहरीका अनुसार गत आर्थिक वर्ष प्रदेशभर ८ हजार २ सय ७८ वटा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो, जसबाट ५ लाख ६९ हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्। विद्यालय, सार्वजनिक यातायात, चालक–सहचालक, व्यवसायी, पैदलयात्री र समुदायलाई लक्षित गरी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
दुर्घटना न्यूनीकरणका लागि ‘सुरक्षित कर्णाली अभियान’ अन्तर्गत अतिरिक्त सिट हटाउने, कालो सिसा र स्टिकर हटाउने, प्रयोजनविपरीत प्रयोग भएका निजी सवारीमाथि कारबाही, राडर गनमार्फत गति मापन, मापसे/लागूपदार्थ परीक्षण, चालक अनुमति पत्र परीक्षार्थीलाई ट्राफिक शिक्षा, विद्यालय बसको यान्त्रिक परीक्षण, चालक तथा सहचालकको स्वास्थ्य परीक्षण, ब्ल्याक स्पटमा चेतनामूलक बोर्ड स्थापना, महिला अटो चालकसँग अन्तरक्रिया तथा रक्षात्मक ड्राइभिङ तालिमलगायतका कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
हाल कर्णाली प्रदेशमा करिब ९ हजार ६ सय ८७ किलोमिटर सडक सञ्जाल, २ सय १५ जना ट्राफिक प्रहरी र ४० हजार ९ सय ५६ दर्ता भएका सवारी साधन रहेका छन्। सीमित जनशक्ति र चुनौतीपूर्ण भौगोलिक अवस्थाबीच पनि दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र सडक सुरक्षा सचेतना अभिवृद्धिका लागि निरन्तर प्रयास भइरहेको प्रहरीले जनाएको छ।




