
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुर प्रसाद पोखरेलले जिल्लाका विभिन्न प्रहरी इकाइहरूको निरीक्षण तथा अनुगमन गर्दै प्रहरी कर्मचारीलाई नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रित हुन निर्देशन दिनुभएको छ ।
अनुगमनका क्रममा उहाँले इलाका प्रहरी कार्यालय छिन्चु र लेकवेशी, प्रहरी चौकी रामघाट, मेहेलकुना, मालारानी तथा गुमीका साथै अस्थायी प्रहरी पोस्ट जहरे, बबई, बोटेचौर, लेखफर्सा, नेटा र चिप्लेको निरीक्षण गर्नुभएको थियो ।

निरीक्षणका क्रममा कार्यालय भवन, अभिलेख व्यवस्थापन शाखा, हिरासत कक्ष, कार्यालय परिसर, मेस तथा प्रहरी ब्यारेकको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सुधार र व्यवस्थापनमा ध्यान दिन निर्देशन दिइएको प्रहरीले जनाएको छ ।
एसपी पोखरेलले कार्यरत प्रहरी कर्मचारीलाई विभागीय नीति तथा निर्देशनको पूर्ण पालना गर्दै अनुशासित, जिम्मेवार र उच्च मनोबलका साथ सेवामा खटिन आग्रह गर्नुभएको थियो । साथै उहाँले जनविश्वास अभिवृद्धि हुने गरी नागरिकमैत्री प्रहरी सेवा प्रभावकारी बनाउन विशेष जोड दिनुभएको बताइएको छ ।




