रुपन्देही । रुपन्देही जिल्लामा प्रहरीको प्रमुख चुनौती सीमा क्षेत्रबाट हुने तस्करी रहेको बताउँदै जिल्ला प्रहरी प्रमुख एसपी जनक शाहीले तस्करीविरुद्ध कडाइका साथ प्रहरी परिचालन गरिने स्पष्ट पारेका छन्।

बिहीबार आयोजित परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै एसपी शाहीले आफू कार्यकालभर सीमा सुरक्षा मजबुत बनाउने, लागुऔषध ओसार–पसार नियन्त्रण गर्ने तथा आउँदै गरेको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका हुन्।

“रुपन्देही संवेदनशील जिल्ला हो। यहाँ सीमा तस्करी, लागुऔषध कारोबार, आपराधिक गतिविधि र निर्वाचन सुरक्षा प्रमुख चुनौतीका रूपमा छन्,” एसपी शाहीले भने, “कानुन कार्यान्वयनमा कुनै सम्झौता हुँदैन। प्रहरी निष्पक्ष, सक्रिय र व्यावसायिक रूपमा खटिन्छ।”

प्रहरी संगठनभित्र एसपी जनक शाही एक काबिल, अनुशासित र पेशागत रूपमा दक्ष प्रहरी अधिकृतका रूपमा चिनिनुहुन्छ। सेवाकालभर इमान्दारिता, नेतृत्व क्षमता र जनमैत्री प्रहरी सेवामा दृढ विश्वास राख्दै कार्यसम्पादन गर्दै आउनुभएका शाहीले विभिन्न स्थानमा कार्यरत रहँदा उल्लेखनीय उपलब्धिहरू हासिल गर्नुभएको छ।

सहकर्मीप्रति सहयोगी व्यवहार र सेवाग्राहीप्रति संवेदनशीलता उहाँका प्रमुख विशेषताका रूपमा लिइन्छ। संगठनभित्र मिलनसार स्वभावका कारण पनि उहाँ लोकप्रिय प्रहरी अधिकृतका रूपमा परिचित हुनुहुन्छ।

रुपन्देहीजस्तो सीमावर्ती, व्यस्त तथा बहुआयामिक चुनौती बोकेको जिल्लामा एसपी शाहीको नेतृत्वले शान्ति सुरक्षा थप सुदृढ हुने, अपराध नियन्त्रण प्रभावकारी बन्ने र प्रहरी–नागरिक सम्बन्ध अझ मजबुत हुने अपेक्षा गरिएको छ। स्थानीय सरोकारवाला तथा नागरिक समाजले पनि एसपी शाहीको नेतृत्वमा जिल्लाको सुरक्षा व्यवस्थापन नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय