
रौतहट, २७ साउन । रौतहटस्थित लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ। मंगलबार दिउँसो नदीमा नुहाउन गएका एक बालक र दुई बालिका अचानक पानीमा डुबेर बेपत्ता भएका थिए।
हराइरहेका बालबालिकामध्ये देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहम्मद रहमतुल्लाह र सोही ठाउँकी १० वर्षीया सबनम खातुनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बुधबार बिहान दुवै जनाको शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनामा परेकी अर्की एक बालिका भने अझै बेपत्ता रहेकी छिन् र उनको निरन्तर खोजी भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी वसन्त गौतमका अनुसार, फेला परेका दुवै शवलाई आवश्यक कानुनी मुचुल्का तथा प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको छ।




