काठमाडौँ । मधेस प्रदेशस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बारा पथलैयाका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालमाथि छानबिन सुरु भएको छ । आचरण विपरीत गतिविधि गरेको आशंकामा मधेस प्रदेश प्रहरी कार्यालयले ३ वटा अलग-अलग छानबिन समिति गठन गरी अनुसन्धान अगाडि बढाएको हो ।

मधेस प्रदेश प्रहरीका डीआईजी उमा प्रसाद चतुर्वेदीका अनुसार छानबिन समितिको नेतृत्व एसएसपी भीम दाहाल, एसएसपी कमल थापा र एसपी नारायण रञ्जितकारले गरिरहेका छन् ।

सिलवालविरुद्ध प्रहरी प्रधान कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालयमा ३५ थान उजुरी दर्ता भएका छन् । यी उजुरी पाँच भिन्न प्रकृतिका रहेको बताइएको छ । चतुर्वेदीले भने, “३५ थान उजुरी आएको छ, समितिले त्यसबारे छानबिन गरिरहेको छ ।”

प्रहरी स्रोतका अनुसार सिलवालले मापसे गरेर सवारी चलाउने चालकलाई जरिवाना गरेर छाड्नुपर्नेमा रातभर नियन्त्रणमा राख्ने, रकम असुल्ने, चोरीका गाडी आफूखुसी प्रयोग गर्ने र हेभिलोड नियम पालना नगर्ने जस्ता आरोप लगाइएका छन् । साथै, राजमार्गमा चेकजाँच गर्दा स्थानीय प्रहरीसँग समन्वय नगरी ट्राफिकले मात्र गर्ने गरेको भन्ने उजुरीसमेत परेको छ ।

तर, सिलवालले भने चोरीका गाडी भन्सार बुझाउने प्रक्रियामा रहेको दाबी गरेका छन् । हाल तीनवटा समिति मार्फत व्यापक छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय