काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा नक्कली कागजातका आधारमा व्यक्ति विदेश पठाउने कार्यमा संलग्न भएको आशंकामा अध्यागमन कार्यालयका ९ कर्मचारीको सरुवा गरिएको छ। यसभित्र गृह मन्त्रालयका उच्च तहसम्मको संलग्नता रहेको भन्दै उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि, बचाउ रणनीति स्वरूप मंगलबार सरुवा गरिएको खुलेको छ।

गृहमन्त्री रमेश लेखकको निर्णयमा अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराईको सरुवा गरिएको हो। यस्तै, कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालको निर्णयमा ३ नायब सुब्बा, ४ कम्प्युटर अपरेटर र १ सहायक कम्प्युटर अपरेटरलाई समेत सरुवा गरिएको छ।

अख्तियारको निगरानीमा अध्यागमन प्रमुख

सरुवा भएको भोलिपल्टै बुधबार अख्तियारको टोलीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा छापा मारी प्रमुख भट्टराईलाई नियन्त्रणमा लिएको छ। हाल उनको मोबाइल फोन जफत गरी फरेन्सिक विश्लेषणको लागि पठाइएको अख्तियार स्रोतले जनाएको छ।

गृह मन्त्रालय निकट स्रोतका अनुसार, भट्टराईले नायब सुब्बा र अपरेटरहरूलाई अलग–अलग सिफ्टमा खटाएर नक्कली कागजात पास गराउने कार्यमा संलग्न गराएको भन्ने प्रमाणका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको हो।

सरुवा गरिएका कर्मचारीहरूको विवरण

नायब सुब्बा:

  • प्रेमप्रसाद पौडेल – जिल्ला प्रशासन कार्यालय, काठमाडौं
  • वीरभद्र जोशी – जिल्ला प्रशासन कार्यालय, काठमाडौं
  • नरबहादुर थापा – जिल्ला प्रशासन कार्यालय, बाँके

कम्प्युटर अपरेटर:

  • उदेन सुवेदी
  • प्रदीपकुमार यादव
  • पवन गुरुङ
  • धनराज उपाध्याय – सबैको सरुवा कारागार व्यवस्थापन विभाग वा अन्तर्गत गरिएको

सहायक कम्प्युटर अपरेटर:

  • कमला श्रेष्ठ – कारागार व्यवस्थापन विभाग वा अन्तर्गत

यस घटनाले भिजिट भिसाको आडमा भइरहेको मानव तस्करीको गम्भीर तह उजागर गर्दैछ। अहिले अख्तियारको अनुसन्धानपछि थप संलग्न अधिकारीहरूलाई कानुनी कारबाहीमा ल्याउने तयारी भइरहेको बुझिएको छ।

स्रोतका अनुसार, यो प्रक्रिया अझै प्रारम्भिक चरणमै छ, र यदि निष्पक्ष अनुसन्धान भयो भने अझ ठूला नामहरूको संलग्नता बाहिर आउने सम्भावना प्रबल छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय