काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले देशभरको सडक यातायात प्रभावित बनेको छ। नेपाल प्रहरीका अनुसार विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सहायक सडकमा पहिरो खस्दा कतिपय स्थानमा यातायात पूर्ण रूपमा बन्द भएको छ भने केही सडकमा एकतर्फी आवागमन सञ्चालन गरिएको छ।

काठमाडौँ उपत्यका तथा बागमती प्रदेशमा पनि सडक यातायात प्रभावित भएको छ। ललितपुरको कान्तिलोकपथ र टिकाभैरव–चारघरे सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्। धादिङको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर र चालिसेमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि सुरक्षाको कारण धादिङ तथा आसपासका क्षेत्रमा अर्को सूचना जारी नभएसम्म आवागमन रोकिएको प्रहरीले जनाएको छ।

रसुवाका मुख्य सडकहरू बाढीका कारण ठप्प छन् भने मकवानपुरको हेटौँडा–भैँसे–भीमफेदी–फाखेल–काठमाडौँ सडकखण्ड पनि पहिरोले पूर्ण रूपमा बन्द भएको छ। काभ्रेको बीपी राजमार्गमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

कोशी प्रदेशमा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सोलुखुम्बुको सिद्धिचरण लोकमार्गलगायत सडकमा राति ८ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सवारीसाधन तथा पैदल यात्रुको आवागमनमा रोक लगाइएको छ।

गण्डकी प्रदेशमा पनि पहिरोले सडक सञ्जालमा ठूलो असर पारेको छ। मनाङको चामे–बेंसीसहर, बागलुङको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्ड पूर्ण रूपमा बन्द छन्। त्यस्तै, मुस्ताङको जोमसोम–कोरला, पर्वतको मालढुंगा–बेनी, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, लमजुङको मध्यपहाडी लोकमार्ग तथा तनहुँको पृथ्वी राजमार्गअन्तर्गत घाँसीकुवा क्षेत्रमा पनि पहिरोका कारण यातायात रोकिएको छ।

लुम्बिनी प्रदेशको गुल्मीस्थित कालीगण्डकी करिडोर तथा कर्णाली प्रदेशको कालिकोटमा पर्ने कर्णाली राजमार्गको गगने खोला र मुगुको नाग्म–गमगढी सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

अवरुद्ध सडक खुलाउन प्रहरी, स्थानीय प्रशासन तथा सम्बन्धित निकायले प्रयास गरिरहेका छन्। लगातार वर्षा भइरहेकाले सडक खुलाइए पनि पुनः पहिरो खस्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन र यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय