मकवानपुर । मनहरि गाउँपालिका–९ भाबरबाट प्रहरीले १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले २३ गते राति करिब २ः४५ बजे भाबरको भित्री सडकखण्डमा सवारी जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार भाबरबाट खरङ्गातर्फ जाँदै गरेका बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कार र ग २ च ६१५ नम्बरको पिकअपलाई जाँचका लागि रोक्न खोज्दा पिकअप चालकले भाग्ने प्रयास गरेका थिए। प्रहरीले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर जाँच गर्दा कारको सिटभित्र प्लास्टिकले बेरेर लुकाइएको १३ पोका गाँजा फेला परेको हो।

पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र भरतपुर महानगरपालिका–२४ का ४८ वर्षीय टेकबहादुर दोङ रहेका छन्। महतो कार चालक हुन् भने दोङ पिकअप चालक हुन्।

प्रारम्भिक अनुसन्धानमा पिकअप चालक दोङले स्कर्टिङ गर्दै कारलाई अगाडि ल्याएको खुलेको प्रहरीले जनाएको छ।

गाँजा, दुवै सवारीसाधन र पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय मनहरिमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय