
बारा । वीरगञ्ज–पथलैया सडकखण्डअन्तर्गत जितपुर सिमरा उपमहानगरपालिका–७ छातापिपरामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।
सोमबार पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.५ च २२७७ नम्बरको जिप अनियन्त्रित भएर सडक डिभाइडरमा ठोक्किएपछि पल्टिएको थियो।

दुर्घटनामा जिप चालक पर्साको वीरगञ्ज महानगरपालिका–३० प्रसोतीपुरका २२ वर्षीय जैमुदिन अन्सारी गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी उपचारका लागि परवानीपुरस्थित एलएस न्यूरो अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनामा जिपका सहचालक पर्साको विश्रामपुर गाउँपालिका–९ का २० वर्षीय स्वयमभुला अन्सारी घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




