काठमाडौं । वीरगञ्जस्थित क्यासिनोमा जुवा खेलिरहेको आरोपमा नेपाल प्रहरीका एक इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष ३६ वर्षीय जसवन्त यादवसहित ८ जनालाई पक्राउ गरिएको हो।

उनीहरू वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा प्रवेश गरी जुवा खेलेको आरोपमा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पौडेल र यादवसहित सखुवाप्रसौनी गाउँपालिका–६ का ३० वर्षीय चन्दन सहनी तथा वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा रहेका छन्।

यस्तै, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराएको आरोपमा क्यासिनोका चार कर्मचारी पनि पक्राउ परेका छन्। पक्राउ पर्ने कर्मचारीमा वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय