
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।
मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखनलाई मानव सभ्यतामाथिकै गम्भीर कलङ्कका रूपमा व्याख्या गरेका छन् । उनले यो समस्या पछिल्लो समय संगठित अपराधका रूपमा विश्वभर फैलिँदै गएकाले यसको नियन्त्रणका लागि संयुक्त प्रयास आवश्यक रहेको बताए ।
यस वर्ष ‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ राष्ट्रिय दिवस मनाइँदैछ । प्रधानमन्त्री शाहले प्रविधिको तीव्र विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको स्वरूप, प्रवृत्ति र गन्तव्यमा समेत परिवर्तन आएको उल्लेख गरेका छन् ।

उनका अनुसार मानव बेचबिखन तथा ओसारपसार रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार नीतिगत र संस्थागत सुधारलाई अघि बढाइरहेको छ । यस क्रममा सङ्घ, प्रदेश र स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।
प्रधानमन्त्री शाहले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई ‘पालेर्मो प्रोटोकल’अनुकूल बनाउने उद्देश्यले संशोधन विधेयक संसदमा दर्ता गरिएको जानकारी दिएका छन् । प्रस्तावित कानुनी सुधारले मानव बेचबिखन तथा ओसारपसारका पीडितको मानव अधिकार संरक्षण तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
संघीय संरचनाअनुसार विद्यमान कानुनी तथा संस्थागत संयन्त्रलाई परिमार्जन गर्दै मानव बेचबिखनविरुद्धको नीति समेत कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री शाहले बताएका छन् । उनले यस अभियानलाई प्रभावकारी बनाउन प्रदेश तथा स्थानीय सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार र अन्य सम्बन्धित निकायको भूमिका महत्वपूर्ण रहेको बताए ।
‘साझा पहल र संयुक्त प्रयासबाट मात्रै मानव बेचबिखनमुक्त समाज निर्माण गर्न सकिन्छ,’ प्रधानमन्त्री शाहले सन्देशमा उल्लेख गरेका छन् ।
उनले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको सरकारी अभियानमा सहयोग, समन्वय र सहकार्य गर्दै आएका सबै पक्षलाई धन्यवाद दिँदै आगामी दिनमा समेत निरन्तर साथ र ऐक्यबद्धताका लागि आग्रह गरेका छन् ।




