
काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा प्रमुख सडक तथा राजमार्गको यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रसुवाका प्रमुख सडक तथा त्रिशूली–स्याफ्रुबेंसी सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा ठूलो पहिरो खसेपछि सडकमा यातायात पूर्ण रूपमा रोकिएको छ। यस्तै, सोही राजमार्गको परेवाभीर क्षेत्रमा भने साना सवारीसाधनलाई एक लेनबाट आवतजावत गर्न दिइएको प्रहरीले जनाएको छ।

यसैगरी बेनी–जोमसोम सडकखण्ड, मुगुको मुगु–गमगढी सडक, बझाङको जयपृथ्वी राजमार्ग तथा अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन्।
रोल्पाको शहीद मार्गअन्तर्गत दुईखोली र भालखोर क्षेत्रमा पहिरो खसेपछि यातायात सञ्चालन हुन सकेको छैन। काठमाडौँ–धादिङ जोड्ने चन्द्रागिरि–चिसापानी क्षेत्रमा सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।
त्यस्तै, बीपी राजमार्गको खुर्कोट–नेपालथोक खण्डमा १० टनसम्मका सवारीसाधनलाई तोकिएको समयमा मात्र आवतजावत गर्न अनुमति दिइएको छ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा रातिको समयमा यात्रा गर्न रोक लगाइएको छ। बाढीका कारण बेत्रावतीस्थित पासाङ ल्हामु सडकखण्डसमेत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सडकको अवस्था र प्रतिकूल मौसमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा यात्रा गर्नैपर्ने अवस्थामा सम्बन्धित सडकको अवस्था बुझेर मात्र अघि बढ्न सर्वसाधारणलाई आग्रह गरेको छ।




