
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा गोली प्रहारबाट एक शिक्षकको मृत्यु भएको छ।
मृत्यु हुनेमा चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार बिहीबार साँझ करिब ७ बजे राईमाथि गोली प्रहार भएको हो।

प्रहरीका अनुसार खाना खाएर हात धुन विद्यालयबाहिर निस्किएका बेला राईमाथि विद्यालय नजिकैबाट भरुवा बन्दुकबाट गोली प्रहार भएको थियो। गोली लागेपछि उनी घटनास्थलमै ढलेका थिए।
गोलीको आवाज सुनेपछि घटनाबारे जानकारी भएको राईसँगै विद्यालयमा बस्दै आएकी शिक्षिका टिकामाया राईले प्रहरीलाई बताएकी छन्। प्रारम्भिक जानकारीअनुसार राईको देब्रे कोखमा गोली लागेको थियो।
घटनामा संलग्न व्यक्ति को हुन् र गोली प्रहार गर्नुको कारण के हो भन्ने विषयमा भने अहिलेसम्म खुल्न सकेको छैन।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा तथा इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट करिब ६ घण्टाको पैदल दूरीमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।




