
सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–३ हरकठवाबाट चार दिनदेखि बेपत्ता रहेकी १० वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।
स्थानीय रामविनय यादवकी छोरी चाँदकुमारी यादवलाई धनकौल गाउँपालिका–४ स्थित मनुष्मारा खोलामा मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो।

प्रहरीका अनुसार बालिकाको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी सुवेदीले बताउनुभयो।
गत आइतबारदेखि बेपत्ता बालिकाको परिवार, स्थानीय बासिन्दा र प्रहरीले संयुक्त रूपमा खोजी गरिरहेका थिए। खोजी गर्ने क्रममा बुधबार साँझ बालिका खोलामा मृत अवस्थामा फेला परेकी हुन्।




