
काठमाडौँ । लगातारको वर्षा र सडकको अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ र हेटौँडाबीच सञ्चालन हुने सवारीसाधनका लागि वैकल्पिक रुट तथा नयाँ कार्यतालिका लागू गरिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारीसाधनको प्रकृतिअनुसार फरक–फरक मार्ग निर्धारण गरेका हुन्।

नयाँ व्यवस्थाअनुसार काठमाडौँबाट हेटौँडातर्फ जाने साना सवारीसाधन फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै हेटौँडा पुग्नुपर्नेछ। त्यसैगरी हेटौँडाबाट काठमाडौँतर्फ आउने साना सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै दक्षिणकालीबाट काठमाडौँ प्रवेश गर्नुपर्नेछ।
त्यस्तै, ठूला तथा मालवाहक सवारीसाधनले काठमाडौँबाट हेटौँडा जाँदा चापागाउँ–भट्टेडाँडा–ठिङ्गन हुँदै यात्रा गर्नुपर्ने व्यवस्था गरिएको छ। उक्त मार्ग प्रयोग गर्ने सवारीसाधनले साँझ ६ बजेभित्र ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।
हेटौँडाबाट काठमाडौँतर्फ आउने ठूला तथा मालवाहक सवारीसाधनका लागि भने भैंसे–पालुङ–टिस्टुङ–नौबिसे हुँदै काठमाडौँ प्रवेश गर्ने रुट तोकिएको छ।
यसैबीच, मकवानपुरको त्रिखण्डी नजिक रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर भएकाले इन्धन बोकेका ट्याङ्कर तथा भारी मालवाहक सवारीसाधनलाई उक्त पुल प्रयोग नगर्न आग्रह गरिएको छ।
त्यस्ता सवारीसाधनले बेलिब्रिजको छेउमा रहेको डाइभर्सनमार्फत आवतजावत गर्नुपर्ने प्रशासनले जनाएको छ।
वर्षाका कारण सडक तथा पुलमा जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित निकायले सवारीचालकलाई तोकिएको रुट र समयसीमा पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।




