
काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख सडक तथा राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकखण्डमा पहिरो तथा बाढीका कारण यातायात सेवा प्रभावित भएको छ।
धादिङमा पृथ्वी राजमार्ग सबैभन्दा बढी प्रभावित भएको छ। बेनीघाट रोराङ–७ स्थित कृष्णभिर र गजुरी–२ को परेवाभिरमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। बेनीघाट रोराङ–१० को ज्वाडु खोला र थाक्रे–२ को कमेरेभिरमा भने पहिरो हटाएपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।

यसैगरी, बीपी राजमार्गअन्तर्गत काभ्रेको खुर्कोट–नेपालथोक सडकखण्डमा बाढीको जोखिमलाई मध्यनजर गर्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर मात्रै सवारीसाधन सञ्चालन गर्न दिइएको छ।
नुवाकोटका विभिन्न सडकखण्ड पनि प्रभावित भएका छन्। पासाङ ल्हामु सडकखण्डको सिटारमा बाढी आएपछि सडक पूर्ण रूपमा बन्द छ। विदुर–लाच्याङ र टोखा–छहरे सडकखण्डमा समेत बाढी तथा पहिरोले आवागमन प्रभावित बनाएको छ।
उता, रसुवाको उत्तरगया–५ खाल्टेमा आएको बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक लामो समयदेखि अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
गण्डकी प्रदेशतर्फ लमजुङको बेँसीसहर–मनाङ सडकखण्डको खर्करे भीरमा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द भएको छ।
कर्णाली प्रदेशमा मुगु–गमगढी सडकखण्डको ताल्चामा पहिरो खसेपछि यातायात ठप्प भएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशको बैतडीस्थित गोठालापानी–झुलाघाट सडकखण्डमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीले वर्षाका कारण सडक तथा राजमार्गमा जुनसुकै बेला बाढी र पहिरोको जोखिम हुन सक्ने भएकाले यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र अघि बढ्न तथा आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।




