
काठमाडौँ । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज पनि वर्षाको सम्भावना रहेकाले खोज तथा उद्धार कार्यमा चुनौती थपिन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार प्रभावित क्षेत्रमा अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले उद्धार टोलीलाई उच्च सतर्कता अपनाउनुपर्ने उनले बताए।

महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि वर्षा हुनसक्ने पूर्वानुमान छ।
कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागसहित कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, आज राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको गतिविधि बढ्न सक्ने देखिएको छ। ती प्रदेशका केही स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले बाढी प्रभावित क्षेत्रका नागरिक तथा उद्धारमा खटिएका टोलीलाई विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।





