काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो, भूक्षय र सडक कटानका कारण देशका विभिन्न स्थानमा प्रमुख सडकखण्डको यातायात प्रभावित भएको छ। जोखिमलाई मध्यनजर गर्दै केही सडकमा निश्चित समयका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने कतिपय सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।

 

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने यातायात सञ्चालन गर्न दिइएको छ।

 

त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ।

 

इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्गबाट यात्रा गर्न सकिने जनाइएको छ।

 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो खस्नुका साथै लिपिङ क्षेत्रमा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

 

रसुवामा पनि बाढी तथा पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड अवरुद्ध भएको छ। गोसाइँकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा पहिरो खसेपछि पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको छ।

 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरअन्तर्गतको जाजरकोट–डोल्पा सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ। लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि सडक आवागमन रोकिएको छ।

 

यसैगरी रोल्पाको माडी गाउँपालिका–६ झकलीमा रुखसहित पहिरो खस्दा घोराही–थवाङ–रुकुम सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने स्थानबाट करिब एक सय मिटर उत्तरतर्फ पहिरो खसेपछि सिद्धार्थ राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ।

 

प्रहरी प्रधान कार्यालयका अनुसार अवरुद्ध सडकखण्डमा अझै बाढी, पहिरो तथा भूक्षयको जोखिम कायम रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ। सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय