
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजा खेतीलाई कानुनको दायरामा ल्याएर व्यवस्थित गर्न सकिए अर्थ मन्त्रालय सहजीकरणका लागि तयार रहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभाको प्रश्नोत्तर कार्यक्रममा सांसद विष्णुकुमारी सापकोटाले नेपालमा गाँजा खेतीलाई वैधानिक बनाउने सरकारको योजनाबारे प्रश्न गरेकी थिइन्।
जवाफमा मन्त्री वाग्लेले गाँजा खेतीको विषय आर्थिक लाभ र राजस्वसँग मात्रै सम्बन्धित नभई औषधिजन्य प्रयोग तथा लागुऔषध नियन्त्रणसँग समेत जोडिएको संवेदनशील विषय भएको बताए। त्यसैले विज्ञहरूको अध्ययन र आवश्यक कानुनी व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।
उनले औषधिजन्य प्रयोजनका लागि गाँजा उत्पादनलाई वैधानिक बनाउने दिशामा विभिन्न विकसित मुलुकसमेत अघि बढिरहेको उल्लेख गर्दै नेपालले पनि यस विषयमा सकारात्मक भएर अध्ययन गर्नुपर्ने बताए।
सांसद सापकोटाले गाँजाबाट औषधि, कपडा, कागज तथा डोरीलगायत सामग्री उत्पादन गर्न सकिने र यसबाट किसानको आय तथा देशको अर्थतन्त्रमा योगदान पुग्न सक्ने बताएकी थिइन्।
मन्त्री वाग्लेले गाँजा खेतीसम्बन्धी विषय गृह मन्त्रालयसँग समेत सम्बन्धित रहेको उल्लेख गर्दै सम्बन्धित निकायसँग छलफलपछि कानुनी व्यवस्था गर्न सकिए अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए।
उनका अनुसार चालु आर्थिक वर्षको बजेटमा भने गाँजा खेतीसम्बन्धी छुट्टै कार्यक्रम समावेश गरिएको छैन।





