
५ भदौ, काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्याइज होस्टलमा युवकको हत्या गरेको आरोपमा फरार रहेका अर्का एक युवक पक्राउ परेका छन्।

दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीको हत्या आरोपमा बाराको कलैया उपमहानगरपालिका–३ का २० वर्षीय प्रमित पटेललाई प्रहरीले मकवानपुरको भैंसेबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार गत घटनामा कालाथोकीमाथि होस्टलमै बस्ने १८ वर्षीय शेखर यादव र पटेलले धारिलो हतियार प्रहार गर्दै कुटपिट गरेका थिए। गम्भीर घाइते कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
कालाथोकीको टाउको र घाँटीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घटनापछि यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो भने पटेल फरार थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा पटेललाई मकवानपुरबाट पक्राउ गरिएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ परेका पटेललाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइँदै छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




