काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत् तथा सिँचाइ पूर्वाधारको अवस्था बुझ्न तीन दिने कोशी प्रदेश भ्रमणमा निस्किँदै छन्।

 

मन्त्री श्रेष्ठसहितको टोली आज दिउँसो १ बजे विराटनगर प्रस्थान गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा कोशी प्रदेशमा देखिएका विद्युत् आपूर्तिसम्बन्धी समस्या, प्रसारण लाइन तथा अन्य ऊर्जा पूर्वाधारको स्थलगत निरीक्षण गरिने मन्त्रालयले जनाएको छ।

 

त्यसैगरी सिँचाइको पहुँच, नहर तथा सम्बन्धित संरचनाको अवस्थाबारे पनि स्थलगत अध्ययन गरी आवश्यक सुधार तथा व्यवस्थापनका लागि रणनीति तय गरिनेछ।

 

भ्रमण टोलीमा मन्त्रालयका सचिव सरिता दवाडी, सहसचिव मोहनकुमार शाक्य, मन्त्रीका निजी सचिव सुदर्शन श्रेष्ठ र सचिवालय सदस्य देवेश बेल्बासेसहितका अधिकारी सहभागी हुनेछन्।

 

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक डा. महेश्वर श्रेष्ठ, उपमहानिर्देशक दिनेश भट्ट तथा नेपाल विद्युत् प्राधिकरणका कामु निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत अधिकारी पनि टोलीमा रहनेछन्।

 

मन्त्रीको सचिवालयका अनुसार भ्रमणका क्रममा इनरुवास्थित ४०० केभी भोक्राहा सबस्टेसन र केरौना सबस्टेसनको निरीक्षण गरिनेछ। त्यस्तै बराहक्षेत्र–चतहरा नहरको स्थलगत अवलोकनसँगै ऐतिहासिक चन्द्र नहरको अवस्थाबारे पनि जानकारी लिइने कार्यक्रम छ।

 

स्थलगत निरीक्षणबाट प्राप्त विवरणका आधारमा विद्युत् तथा सिँचाइ पूर्वाधार सुधारका लागि आवश्यक योजना र रणनीति अघि बढाइने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय