चिसापानी । सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कोहलपुर डेन्टल हस्पिटलले कर्णाली चिसापानीमा एकदिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ। नेपाल प्रहरीमा कार्यरत राष्ट्रसेवक कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गरी बिहीबार आयोजित शिविरमा स्वास्थ्य परीक्षण, उपचार, परामर्श तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो।

शिविरबाट करिब २६५ जना सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। सहभागीहरूको दाँत, मुख तथा गिजाको विस्तृत परीक्षणसँगै आवश्यक उपचार, स्वास्थ्य परामर्श र औषधि सेवा प्रदान गरिएको थियो।

कोहलपुर डेन्टल हस्पिटलका प्रबन्ध निर्देशक (एमडी) गजेन्द्र शाहीका अनुसार स्वास्थ्य परीक्षणका क्रममा अधिकांश सेवाग्राहीमा दाँतमा किरा लाग्ने, दाँत अत्यधिक क्षति भएर निकाल्नुपर्ने, रुट क्यानाल उपचार आवश्यक पर्ने तथा गिजासम्बन्धी विभिन्न समस्या देखिएका थिए। त्यस्ता बिरामीलाई आवश्यक उपचारका साथै थप उपचार प्रक्रियाबारे परामर्शसमेत प्रदान गरिएको उनले बताए।

उनका अनुसार शिविरमा मुख तथा दाँतका रोग समयमै पहिचान गरी उपचार नगर्दा हुन सक्ने जटिलता, विशेषगरी मुखको क्यान्सर जस्ता गम्भीर रोगको जोखिमबारे सहभागीलाई सचेत गराइएको थियो। मुख स्वास्थ्यको नियमित हेरचाह, सही तरिकाले दाँत सफा गर्ने विधि, समय–समयमा दन्त परीक्षण गराउने आवश्यकता तथा स्वस्थ जीवनशैली अपनाउने विषयमा पनि जानकारी दिइएको थियो।

शिविरमा जनरल फिजिसियन डा. चेतन न्यौपाने र डेन्टल सर्जन डा. आनन्दी यादवको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सक टोलीले स्वास्थ्य परीक्षण, दन्त उपचार तथा परामर्श सेवा प्रदान गरेको थियो। साथै सहभागीहरूको रक्तचाप परीक्षण, आधारभूत स्वास्थ्य जाँच तथा आवश्यक स्वास्थ्य परामर्शसमेत निःशुल्क उपलब्ध गराइएको थियो।

कार्यक्रममा सहभागीहरूले दाँत तथा मुख स्वास्थ्यबारे व्यावहारिक जानकारी प्राप्त गर्नुका साथै समयमै रोगको पहिचान र उपचार गर्न सके भविष्यमा हुने जटिल स्वास्थ्य समस्याबाट बच्न सकिने सन्देश दिइएको थियो। ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अझै सीमित रहेको अवस्थामा यस्ता निःशुल्क शिविरले स्थानीय समुदाय र राष्ट्रसेवक कर्मचारीलाई प्रत्यक्ष लाभ पुगेको सहभागीहरूले बताएका छन्।

हस्पिटलका एमडी गजेन्द्र शाहीले सामाजिक उत्तरदायित्वलाई संस्थाको प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिइने बताए। उनले विशेषगरी ग्रामीण तथा स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रका नागरिकसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने, मुख स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र समयमै रोग पहिचान गरी उपचारमा सहयोग गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी दिए।

कोहलपुर डेन्टल हस्पिटलले स्वास्थ्य सेवा केवल उपचारमा सीमित नराखी रोगको रोकथाम, जनचेतना अभिवृद्धि र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय